स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका पूर्वअध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा गुणस्तरहीन ढलान निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको हो ।
अभियोगपत्रमा अर्यालसँगै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ, इन्जिनियर नवीन थापा, उपभोक्ता व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले, कोषाध्यक्ष हिमकुमारी केसी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम, इन्जिनियर सुदिप आचार्य, तल्लो बजार नाली तथा ढलान निर्माण उपभोक्ता समितिका अध्यक्ष मंगल देवी थापा मगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटासमेत समावेश छन् ।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार, उनीहरूले बाटो निर्माणको काममा कमसल सामग्री प्रयोग गरी क्रमश: २७ लाख ५ हजार ११ रुपैयाँ र ८ लाख ३४ हजार ३२० रुपैयाँ भ्रष्टाचार गरेका छन् । उक्त अनियमितताको छानबिनपछि सबै विरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ ।






