धनगढी । कैलालीको घुरहा नदीस्थित घुरहा पुलछेउ परेको भ्वाङ टालटुल गरिए पनि जोखिम अझै हट्न सकेको छैन । कैलारी गाउँपालिका ४ र ६ जोड्ने स्थानमा रहेको पुलछेउमा नदीले धार परिवर्तन गरेपछि कटान भएर पुल पहुँचमार्गमा भ्वाङ परेको थियो ।
समस्याको समाधानका लागि स्याउला र माटो प्रयोग गरी भ्वाङ टालिएको छ । तर, उक्त माटो पुनः भासिन थालेकोले दुर्घटनाको जोखिम कायमै रहेको छ । पुल निर्माणका क्रममा नदीको बहाव पश्चिमतिरबाट पूर्वतिर फर्काइएको थियो, तर निर्माणपश्चात बहावलाई पुनः पश्चिमतिर मोड्ने काम नगरिएकाले समस्या उत्पन्न भएको हो ।
स्थानीयका अनुसार, नदीको पानी निरन्तर पूर्वतिर बगिरहेकाले अहिले नदीले नयाँ धार बनाएको छ । पहिलाको बहाव क्षेत्र भने अहिले रुख र झाडीले भरिएको छ । समस्या समाधानका लागि पुलको संरचना र नदीको बहाव व्यवस्थापनमा स्थायी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।




