महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका ६ स्थित फुलकहा गाउँमा मंगलबार दिउँसो आगलागी हुँदा ठूलो धनमाल क्षति भएको छ । स्थानीय देबेन्द्र अधिकारीको उखु खेतमा लागेको आगो फैलिएर आसपासका ९ जना किसानहरूको उखु पूर्ण रूपमा जलेको छ ।
आगलागीका कारण करिब ३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीको कारण अझै पत्ता लाग्न सकेको छैन ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको भएपनि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ ।
यस घटनाले किसानहरूलाई ठूलो आर्थिक चोट पुर्याएको छ । पीडित किसानहरूले तत्काल राहत र सहायताको लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।




