सर्लाही । सर्लाहीको हरिवन नगरपालिका १० स्थित उखुबारीमा हत्या गरिएको अवस्थामा ३९ वर्षीय हरिप्रसाद प्रसाईंको शव फेला परेको छ । गत पुस १५ गतेदेखि बेपत्ता भएका प्रसाईंको शव शनिबार गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मृतक प्रसाईंको टाउकोमा चोट देखिएको छ । पुस १५ गते बिहान बरहथवा पैसा लिन जाने क्रममा घरबाट हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारले खोजी सुरु गरे । केही समयसम्म उनी सम्पर्कमा नआएपछि पुस १६ गते परिवारले स्थानीय प्रहरीमा निवेदन दर्ता गरेका थिए ।
प्रहरीले घटनास्थलको अनुसन्धान गर्दै सर्च अपरेशन जारी राखेपछि मृतकको जुत्ता, मोटरसाइकल र च्यातिएको फोटो फेला पारेका थिए । यसपछि, १९ गते पर्स समेत फेला पर्नासाथ प्रहरीको खोजी तीव्र पारेको थियो । शनिबार उखुबारीमा गाडेको शव प्राप्त भयो ।
प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार, शव निकालेपछि प्रादेशिक अस्पतालका चिकित्सक र सुरक्षा अधिकारीको उपस्थितिमा शव परीक्षणका लागि मलङ्गवा पठाइएको छ । प्रारम्भिक मुचुल्का तयार गरेर घटनाको अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
हत्या प्रकरणमा संलग्न रहेको आशङ्कामा प्रहरीले केही व्यक्तिहरुलाई पक्राउ गरेको छ । यी व्यक्तिहरूको पहिचान गोप्य राखिएको छ र अनुसन्धान कार्य चलिरहेको छ ।
प्रसाईंको हत्या भएपछि गाउँमा त्रास फैलिएको छ । मृतक प्रसाईंले इँटा भट्टा सञ्चालन गर्दै आएका थिए । यस घटनाले स्थानीय समुदायमा ठूलो त्रास फैलाएको छ ।




