बारा । बारा जिल्लाको पचरौता नगरपालिका ४ इनर्वाटोलबाट अवैध लागूऔषधसहित एक व्यक्तिलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो सिम्रौनगढ नगरपालिका २ महुवाही टोल निवासी ४७ वर्षीय राम सेवक प्रसाद साहलाई पक्राउ गरेको हो ।
प्रहरीले साहको साथबाट सेतो हेरोइन जस्तो देखिने करिब २७ ग्राम पदार्थ र नियन्त्रित लागूऔषध नाइट्राभेटका १५ ट्याब्लेट बरामद गरेको छ । प्रहरीका अनुसार लागूऔषध नियन्त्रण ऐनअन्तर्गत उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले लागूऔषधको ओसारपसार तथा बिक्री वितरणमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन सक्रियताका साथ कार्य गरिरहेको जनाएको छ । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय बारा मार्फत कानूनी प्रक्रिया अघि बढाइनेछ ।




