डोटी । ड्युटीको क्रममा बेहोस भएर ढलेका एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । डडेल्धुराको भागेश्वर गाउँपालिका ५ निवासी ३६ वर्षीय प्रहरी सहायक हवल्दार बहादुर सिंह पालीको निधन भएको हो ।
बुधबार बिहान इलाका प्रहरी कार्यालय विपिनगरमा ड्युटीमा रहेका बेला उनी छाती दुख्यो भन्दै एक्कासि बेहोस भएका थिए । उनलाई बिहान ३ देखि ६ बजेसम्मको ड्युटीमा खटाइएको थियो ।
बेहोस भएपछि पालीलाई तत्काल विपिनगरस्थित पोलिक्लिनिकमा सामान्य उपचार गराइएको थियो । थप उपचारका लागि उनलाई बिहान ४ बजे सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको थियो ।
तर, बिहान ६:३२ बजे अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको डोटी जिल्ला प्रहरी कार्यालयका डिएसपी भीमलाल भट्टराईले जानकारी दिए ।
प्रहरीका अनुसार पाली पहिल्यै पनि ड्युटीका क्रममा पटक–पटक बेहोस हुने समस्या भोग्दै आएका थिए । मृतक पालीका परिवारमा श्रीमती र १५ वर्षीया छोरी छन् ।
पालीको निधन प्रति जिल्ला प्रहरी कार्यालय डोटीले गहिरो दुःख व्यक्त गर्दै परिवारलाई आवश्यक सहयोग उपलब्ध गराइने जनाएको छ ।




