वीरगंज । पर्सा जिल्लाका दलित समुदाय अहिले कठ्याङ्ग्रिदो चिसो मौसममा गाँस, बास र कपासको समस्याले पिरोलिएका छन् । दैनिक ज्याला मजदूरीबाट जीविकोपार्जन गर्ने यो समुदाय कामको अभाव र कठिन परिस्थितिका कारण थप समस्यामा परेका छन् ।
जिल्लाको कुल जनसंख्याको ३० प्रतिशत दलित रहेको अनुमान छ । वीरगंज महानगर, पर्सागढी नगरपालिका, सखुवाप्रसौनी, विन्ध्यवासिनी, जीराभवानी गाउँपालिकामा दलितहरूको बाक्लो बसोबास रहेको छ । यस बाहेक, जिल्लाका सबै पालिकामा दलित बस्तीहरू रहेका छन् ।
सरकारले गरिब र विपन्न समुदायका लागि जनता आवास कार्यक्रम अन्तर्गत पक्की भवन निर्माण योजना ल्याएपनि अधिकांश दलितहरूको पहुँचमा यो कार्यक्रम पुगेको छैन । अहिलेसम्म ९५ प्रतिशत दलितहरूको घर फुसको छ, जसका कारण चिसोमा कठ्याङ्ग्रिनु र वर्षायाममा घरभित्र पानी पस्ने समस्याहरू जारी छन् ।
कतिपय दलित परिवारको फुसको घरमा ढोका समेत नभएको र न्यानो कपडाको अभावले कठ्याङ्ग्रिदो चिसो हावामा रात बिताउनुपरेको छ । स्थानीय पालिकाहरू र विपद् व्यवस्थापन समितिबाट पर्याप्त सहयोग नपाएको गुनासो छ ।
चिसोको मार खेपिरहेका दलितहरूलाई गाँस, बास र कपासको व्यवस्था गर्न पालिकाहरू र सम्बन्धित निकायलाई सक्रिय हुन आह्वान गरिएको छ । यसका साथै, सरकार र स्थानीय निकायले दलित समुदायका समस्या समाधानका लागि ठोस कदम चाल्न आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।




