सर्लाही । सर्लाहीको बलरा नगरपालिका ९ मा दुई किसानले लगाएको उखुबारीमा आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
शुक्रबार दिउँसो करिब २ बजे स्थानीय शंकर राय यादवले आफ्नो खेतमा रहेको उखुको पत्कर (सुकेको पात) जलाउने क्रममा आगो अनियन्त्रित भई निरज सिंह र पंकज सिंहको १२ कठ्ठा क्षेत्रफलमा फैलिएको उखुबारीमा सल्किएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आगलागीबाट ठूलो आर्थिक क्षति भएको छ । आगो स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।
उक्त घटनाले किसानहरूलाई ठूलो नोक्सान पुर्याएको छ भने स्थानीयले खेतबारीमा आगो लगाउँदा सावधानी अपनाउनु पर्ने आवश्यकता औंल्याएका छन् ।




