सिराहा । सिराहा जिल्लाको लहान नगरपालिका १ पानीटंकीबाट नियन्त्रित लागुऔषधसहित एक जना पक्राउ परेका छन् । आइतबार दिउँसो लहान नगरपालिका १ बस्ने ४५ वर्षीय दयाराम ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरी टोलीले ठाकुरको घर तलासी गर्दा ३० एम्पुल डाइजेपाम, ३० एम्पुल फेनारगन र ३० एम्पुल बुप्रेनोर्फिन फेला पारेको थियो । लागुऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक कारबाहीका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले यस प्रकारका अवैध गतिविधिलाई नियन्त्रण गर्न थप निगरानी बढाएको जानकारी दिएको छ । पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान जारी रहेको र लागुऔषध सम्बन्धी अन्य विवरण सार्वजनिक गरिने जनाइएको छ ।




