सर्लाही । हरिवन नगरपालिका ५ का स्थानीयवासी विगत ६ वर्षदेखि चरम खानेपानीको अभाव भोग्न बाध्य छन् । खानेपानी आयोजना निर्माण सम्पन्न नहुँदा यहाँका बासिन्दा काकाकुल बनेका छन् ।
सिद्धार्थ टोलका बासिन्दाले वर्षौँदेखि पानीको समस्या झेलिरहेका छन् । टोलमा गाडिएका ट्युबेलहरूबाट आर्सेनिकयुक्त पानी आउने समस्याका कारण स्थानीयहरूले ट्युबेलको पानी प्रयोग गर्न बन्द गरेका छन् ।
खानेपानी किन्न बाध्य बासिन्दाले दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेको बताएका छन् । डिप बोरिङमार्फत पानी वितरण सुरु गरिएको भएपनि विद्युत् खर्च अत्यधिक भएको उपभोक्ता समितिले जनाएको छ ।
पानीको पाइपलाइन र धारासमेत जडान भइसकेको छ, तर ‘ओभरहेड ट्याङ्की’ निर्माण नहुँदा परियोजना अधुरै छ । वडाका झन्डै ९९३ घर परिवार खानेपानीको चरम अभावमा रहेका छन् ।
यस क्षेत्रमा अत्यधिक मात्रामा आर्सेनिक फेला परेका कारण अधिकांशले ट्युबेलको पानी प्रयोग गर्न बन्द गरेका छन् । क्यान्सरको जोखिमसमेत देखिन थालेपछि सरकारले खानेपानी आयोजनाको सुरुवात गरेपनि निर्माण कार्यमा प्रगति हुन सकेको छैन ।
खानेपानी आयोजनाका लागि आवश्यक बजेटको अभाव रहेको सम्बन्धित निकायले जनाएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ४० लाख बजेट विनियोजन गरेकाले काम छिट्टै सम्पन्न हुने अपेक्षा गरिएको छ ।
एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिइएको ओभरहेड ट्याङ्की निर्माण कार्य अझै अधुरो छ । ठेक्का लिएको निर्माण कम्पनीले बजेट सुनिश्चितता नभएका कारण समयमै काम सम्पन्न गर्न नसकिएको जनाएको छ ।
स्थानीय बासिन्दाले प्रदेश र संघीय सरकारसँग आयोजनाको शीघ्र सम्पन्नताका लागि पहल गर्न आग्रह गरेका छन् ।




