सर्लाही । जिल्लाको हरिपुर नगरपालिका १ हजारबिघा क्षेत्रमा जङ्गली हात्तीले बालीनाली नष्ट गर्न थालेपछि स्थानीयवासी त्रासमा परेका छन् । तीन वटा जङ्गली हात्तीको समूहले किसानको खेतबारीमा लगाएको अन्नबाली र उखुमा ठूलो क्षति पुर्याएको छ ।
वडाध्यक्ष नानीबाबु थापाका अनुसार जङ्गलबाट खेतमा हात्तीहरू पसेर बाली नष्ट गरेपछि स्थानीयवासी हात्ती गाउँमा छिर्छ कि भन्ने डरले सतर्क बनेका छन् । “हात्तीले मुना लायो मगरको कच्ची घर पनि भत्काएको छ । रातभर गाउँमा त्रास छ । हामीले सुरक्षा निकाय र वन कार्यालयलाई जानकारी गराइसकेका छौँ,” वडाध्यक्ष थापाले बताए ।
हात्तीको आक्रमणले विपन्न एकल महिला मुना लायो मगरको घरमा थप क्षति पुगेको छ । हात्तीले घरभित्र रहेको अन्नपात समेत खाएको छ । राति हात्ती आएको थाहा पाएपछि मगरले छिमेकतर्फ भागेर ज्यान जोगाएको स्थानीय निर्मला कार्कीले बताइन् ।
हात्तीको उपद्रोकै कारण निर्मला कार्की, अष्टम खड्का र गोपाल बस्नेतसहितका किसानको बिघौं जमिनमा लगाइएको मकै, गहुँ र उखु बाली नष्ट भएको सब डिभिजन वन कार्यालयका प्रमुख रोहित चौधरीले जानकारी दिए ।
सब डिभिजन वन कार्यालयले हरिपुर नगरपालिका १ र जानकीनगरका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ । यो क्षेत्रमा प्रत्येक वर्ष जङ्गली हात्तीले बालीनाली र घरमा क्षति गर्दै आएको छ । गत वर्ष हात्तीको आक्रमणबाट घाँस काट्न गएका एक व्यक्तिको ज्यान गएको थियो ।
डिभिजन वन कार्यालयका अनुसार अहिले देखिएका हात्ती रौतहटको वन क्षेत्रमा देखिने बथान हुन सक्ने अनुमान गरिएको छ । हात्तीलाई आफ्नो बासस्थानतर्फ फर्काउन वन कार्यालयले पहल गरिरहेको प्रमुख चौधरीले बताए । स्थानीयले हात्तीको उपद्रो रोक्न सरकार र सरोकारवाला निकायले दीर्घकालीन समाधानका लागि कदम चाल्नु पर्ने माग गरेका छन् ।




