रौतहट । आफू स्वयम् काम गर्ने पसलमा भारतीय व्यक्ति प्रयोग गरी लाखौँ नगद तथा सुनको गहना चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका ४ का २० वर्षीय चन्दनकुमार जैसवाल र भारत बिहार पूर्वी चम्पारण जिल्ला चैनपुर ग्रामका २० वर्षीय रोहितकुमार साह सोनार छन् ।
आरोपी जैसवाल र सोनारमाथि चोरी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए ।
डिएसपी कार्कीका अनुसार आरोपीद्वय जैसवाल र सोनारले तीन जना भारतीय व्यक्तिलाई प्रयोग गरी कटहरिया ५ का जामुन साह सोनारको घरभित्र रहेको काठको दराज फोडेर दुई लाख बराबरको सुनको गहना चोरी गराएको स्वीकार गरेका छन् ।
चोरीको घटनामा संलग्न अन्य तीन जना भारतीय अपराधी फरार रहेको तथा उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । माघ २ गते बुधबार बिहान ६ बजे जामुन साह सोनार मर्निङ वाकमा गएको बेला उनको घरमा राखिएको काठको दराजको ताल्चा काटी नगद ३ लाख ५० हजार र डेढ तोलाको सुनको सिक्री चोरी भएको पीडित परिवारले जनाएको छ ।
घटनाबारे खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मुकेश कुमार सिंहको नेतृत्वमा गएको प्रहरी टोलीले पीडित जामुन साहको पसलका कामदार भारतीय नागरिक रोहित कुमार सोनार र स्थानीय चन्दन कुमार जैसवाललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गरुडा पुर्याएको थियो ।
पीडित जामुन साहका जेठा छोरा शिवशंकर साहका अनुसार केही दिनअघि उनको घरमा रहेको पानी तातो गर्ने गिजर मर्मत गर्न चन्दनकुमार जैसवाललाई बोलाएका थिए । सोही समयमा चन्दनले भारतीय कामदार रोहितसँग सबै जानकारी लिएर रोहितको मिलोमतोमा चन्दनले तीन जना भारतीय बोलाएर घटना गराएको शिवशंकरले जानकारी दिए ।
पछिल्लो केही वर्षदेखि रोहित जामुन साहको सुन चाँदी पसलका काम गर्दै आएका थिए । कटहरिया बजारस्थित रहेको सुनचाँदी पसलहरूमा एक दर्जन भन्दा बढी भारतीय कामदारहरू लामो समयदेखि कार्यरत रहेका छन् । तर जुन पसलमा काम गरे त्यसैमा लाखौंको धनमाल चोरी गराएको यो पहिलो घटना भएको सुन चाँदी व्यवसायीले बताएका छन् ।




