जनकपुरधाम । आर्थिक वर्ष २०८०/८१ मा मधेश प्रदेशमा माछा, दूध, मासु र अण्डा उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार प्रदेशभर ४५ हजार ५ सय ७१ मेट्रिक टन माछा उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा पाँच दशमलव ०४ प्रतिशतले वृद्धि हो ।
आर्थिक वर्ष २०७९/८० मा माछा उत्पादन ४३ हजार ३ सय ८६ मेट्रिक टन मात्र थियो । माछा उत्पादनमा बारा जिल्लाको हिस्सा २२ दशमलव ४३ प्रतिशतले सबैभन्दा उच्च रहेको छ भने पर्साको हिस्सा सात दशमलव ९९ प्रतिशतले न्यून छ । माछापालन व्यवसायीहरूले उत्पादन वृद्धि भएपनि उचित बजार मूल्य र प्राविधिक ज्ञानको अभाव रहेको गुनासो गरेका छन् ।
दूध उत्पादनमा वृद्धि
मधेश प्रदेशमा दूध उत्पादन एक दशमलव ९३ प्रतिशतले वृद्धि भई ६ लाख ५४ हजार एक सय २३ लिटर पुगेको छ । दूध उत्पादनमा सिरहा जिल्लाको हिस्सा २० दशमलव ४४ प्रतिशतले सबैभन्दा धेरै छ भने सप्तरीको हिस्सा सात दशमलव ८३ प्रतिशतले सबैभन्दा कम छ ।
मासु र अण्डा उत्पादनमा पनि सुधार
प्रदेशमा मासुको उत्पादन दुई दशमलव ९८ प्रतिशतले वृद्धि भई एक लाख ४३ हजार ६ सय ७० मेट्रिक टन पुगेको छ । यस्तै, अण्डा उत्पादन पनि दुई दशमलव ७९ प्रतिशतले वृद्धि भई १० करोड ६९ लाख ३९ हजार गोटा उत्पादन भएको छ । यस आर्थिक वृद्धिले मधेश प्रदेशको कृषिमा सकारात्मक योगदान पुर्याएको छ भने उचित बजार मूल्य र प्राविधिक ज्ञान उपलब्ध गराउन आवश्यक रहेको व्यवसायीहरूको माग छ ।






