महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ४ स्थित मझौरा गाउँको मुसहर बस्ती शौचालयविहीन रहेको छ । यस बस्तीका दलित मुसहर परिवार खुला स्थानमा शौच गर्दै आएका छन् ।
स्थानीयका अनुसार, बस्तीमा ७५ घर परिवार छन्, तर कुनै पनि घरमा शौचालय छैन । बस्तीका करिब ३७० जना वृद्धवृद्धा, महिला, पुरुष तथा बालबालिकाले सधैँदेखि गाउँका खेतबारी र बाटो छेउमा शौच गर्दै आएका छन् ।
स्थानीयहरूले शौचालय निर्माणका लागि आवश्यक आर्थिक साधन र जग्गाको अभाव रहेको बताए । उनीहरूको बसोबासका लागि पनि पर्याप्त ठाउँ नभएकोले शौचालय निर्माण असम्भव रहेको जनाइएको छ । बस्तीका मानिसहरूले गाँस, बाँस, कपासको अभाव झेलिरहेका छन् ।
बस्तीका महिलाहरूले खेतबारीमा गएर शौच गर्दा गाली तथा कुटपिटको डर हुने, साथै सर्प, बिच्छु र अन्य जनावरको त्रासको सामना गर्नुपर्ने गुनासो गरेका छन् । बस्तीमा खर, पात, बाँस र बेतका अस्थायी घरहरू छन् । यहाँ शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य आधारभूत आवश्यकताको चरम अभाव छ ।
देश खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको भएपनि यो बस्तीको अवस्था लज्जास्पद रहेको सरसफाइ विज्ञहरूले बताएका छन् । मटिहानी नगरपालिका ऐतिहासिक धार्मिक महत्त्व बोकेको क्षेत्र हो । तर, यहाँको मुसहर बस्तीको पछौटेपनले यो क्षेत्रको समग्र विकासमा थप चुनौती खडा गरेको छ ।




