काठमाडौं । असोज १२ मा आएको बाढीले ललितपुरको च्यासलस्थित बागमती किनारमा रहेको फुटबल रंगशालामा ठूलो क्षति पुर्याएको छ । दशरथ रंगशालाको विकल्पका रूपमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २८ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरेको यो रंगशाला बाढीको चपेटामा परेपछि पूर्ण रूपमा ध्वस्त बनेको हो ।

बाढीले फुटबल मैदानसहितका प्याराफिट मुनि रहेका भौतिक संरचनाहरूमा फोहोर र माटो थुपारेको छ । खेलाडीहरूको कपडा बदल्ने कोठा, रेफ्री कोठा, मेडिकल कोठा, मिडिया सेन्टर र शौचालय जस्ता महत्वपूर्ण क्षेत्रहरू समेत प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ ।

सन् २०२१ मा निर्माण सम्पन्न भएको यो रंगशाला संरचनागत रूपमा कमजोर व्यवस्थापनको उदाहरण बनेको छ । बागमती किनारतर्फ पर्खाल नलगाइएको कारण हरेक वर्ष वर्षाका समयमा मैदानमा बाढी पस्ने गरेको थियो । यसपालिको बाढीले रंगशालाको संरचनामा पुर्याएको क्षति भने विगतको तुलनामा गम्भीर देखिन्छ ।

स्थानीय बासिन्दा र खेल प्रेमीहरूले करोडौं लगानीको यो संरचनामा पर्याप्त संरक्षण र व्यवस्थापनको अभाव भएको गुनासो गरेका छन् । उनीहरूले बाढी रोकथामका लागि बागमती किनारमा पर्खाल निर्माण गर्नुपर्ने र रंगशालाको दीर्घकालीन उपयोगका लागि ठोस योजना आवश्यक भएको बताउँछन् ।









