सिरहा । लाहानका किसानले खुट्टी खोलाको नहरलाई नगर प्रमुखले शौन्दर्यीकरणको नाममा भूमाफियाको मिलेमतोमा जनविरोधी कार्य गरेको भन्दै पालिकाविरुद्ध आन्दोलन चर्काएका छन् ।
सिरहाको लाहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले भूमाफियासँगको साँठगाँठमा किसान र अदालतको आदेश विपरीत लाहानको ऐतिहासिक खुट्टी नहरलाई ढलमा परिणत गर्ने निर्णय गरेको भन्दै किसानहरूले दोस्रो चरणको आन्दोलनको घोषणा गरेका हुन् ।
मेयर चौधरीले स्थानीय किसान, मजदुर र नगरवासीका समस्या समाधान गर्न बारम्बार बेवास्ता गरेपछि पीडित किसान आन्दोलित भएका छन् । लामो समयदेखि आन्दोलन गरिरहेका किसानले माघ २ गते नगरपालिकामा ज्ञापनपत्र बुझाए पनि नगर प्रमुखले कुनै ठोस कदम नचालेको भन्दै किसान संघर्ष समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
आन्दोलित किसानले मेयर चौधरीलाई २०७९ सालदेखि पटकपटक ज्ञापनपत्र बुझाउँदा पनि सहमतिमा आएको प्रतिबद्धता उल्लंघन गरेको किसान संघर्ष समितिका संयोजक अजय चौधरीले बताएका छन् ।
उनले भने, “पटक पटक ज्ञापनपत्र बुझाउँदा पनि खुला नहरका संरचना नष्ट गरी, भूमाफियासँग मिलेमतो गर्दै बजार शौन्दर्यीकरणको नाममा नहर पुर्ने दुष्प्रयास कदापि स्वीकार्य छैन ।” किसान संघर्ष समितिका प्रतिनिधि हेमन्त यादवले भने, “हामीले बारम्बार वार्ता र सहमतिमा जाने प्रयास गर्यौं, तर मेयरले हाम्रो मागलाई बेवास्ता गर्दै आएका छन् ।”
उनले थपे, “किसानहरूको हकविपरीतको जनविरोधी निर्णयको विरुद्ध किसानहरू सडकमा ओर्लिएका छन् । खुट्टी नहरको संरचनाको रक्षा, भूमाफियाविरुद्ध कारबाही, र किसान-मजदुरको हितमा काम नगरेसम्म हाम्रो आन्दोलन जारी रहनेछ । हामी किसानहरूको न्यायका लागि निरन्तर संघर्ष गर्दै जानेछौं ।”
किसान संघर्ष समितिले अदालतले नहर नमासिने गरी सौन्दर्यीकरणको कार्य अघि बढाउन आदेश दिए पनि नगरपालिकाले प्रशासन दुरुपयोग गरी नहरलाई ढलमा परिणत गर्न प्रहरी परिचालन गरेको आरोप लगाएको छ ।
खुट्टी नहरको निर्माणस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी ठूलो संख्यामा परिचालन गरेर मेयर चौधरीले किसानहरूको अहितमा काम गर्न खोजेको स्थानिय किसानहरूको भनाइ छ । यता, लाहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीसँग आन्दोलनको विषयमा सम्पर्क गर्न खोज्दा उनले फोन नउठाएको किसान संघर्ष समितिले जनाएको छ ।
नगरप्रमुखविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा
झन्डै एक वर्षदेखि आन्दोलनरत लाहान नगरपालिकाका स्थानीय किसानहरूको समस्यालाई नगर प्रमुखले बेवास्ता गरेको भन्दै किसानहरूले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । संघर्ष समितिले मंगलबार लाहानस्थित शहीद चोकमा आयोजना गरेको कोणसभामा नगर प्रमुख महेश प्रसाद चौधरीविरुद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका हुन् ।
घोषित कार्यक्रम अनुसार, बुधबार ९ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला उद्योग वाणिज्य संघमा ध्यानाकर्षण पत्र बुझाइनेछ । बिहीबार १० गते लाहान नगरपालिका अगाडि बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म धर्ना बस्ने कार्यक्रम तय गरिएको छ । त्यस्तै, शुक्रबार ११ गते साँझ मेयर महेश चौधरीको पुत्ला दहन गरिनेछ भने शनिबार १२ गते विशाल जनसङ्घर्ष प्रदर्शन र चक्काजाम गरिनेछ ।




