सिरहा । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल मौज्दात रहेपनि यहाँका किसानले समयमा मल पाउन सकेका छैनन् । मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्नुपर्ने मलको मात्रा एकीन गर्न ढिलाइ हुँदा किसानलाई मल अभाव झेल्नुपरेको हो ।
कृषि सामग्री कम्पनी लहानका अनुसार प्रदेश सरकारबाट स्थानीय तहलाई वितरण गर्न जग्गाको क्षेत्रफल अनुसार मलको मात्रा उल्लेख गरी पठाउनु पर्ने हुन्छ । तर, मन्त्रालयबाट पत्र प्राप्त गर्न ढिलाइ हुँदा मल वितरण प्रक्रिया अगाडि बढ्न सकेको छैन । पत्र प्राप्त भएपछि मात्र मल वितरण सुरु गरिने जानकारी दिइएको छ ।
लहानस्थित कृषि सामग्री कम्पनीले कोशी प्रदेशका खोटाङ, ओखलढुङ्गा, सोलु र मधेश प्रदेशको सिरहामा रासायनिक मल वितरणको जिम्मेवारी पाएको छ । कोशी प्रदेशले आफ्ना जिल्लामा पठाउनु पर्ने मलको विवरण उल्लेख गरी पहिले नै पठाइसकेकोले ती जिल्लामा माघको पहिलो हप्ताभित्रै मल वितरण सम्पन्न भइसकेको छ ।
तर, प्रक्रियागत त्रुटीका कारण गहुँमा मल हाल्ने मुख्य समयमा पनि सिरहाका किसानले मल पाउन सकेका छैनन् । गोदाममा हाल पाँच सय मेट्रिक टन डिएपी र सात सय मेट्रिक टन युरिया मौज्दात रहेको भएपनि वितरणमा ढिलाइ भएको छ ।




