रौतहट । रौतहटको चन्द्रपुर र गुजरा नगरपालिकालाई जोड्ने लमाहा खोलाको पक्की पुल निर्माणको काम सुरु भएको एक दशक हुन लाग्दा पनि पुल अधुरो अवस्थामा छ । ठेकदारको लापरवाही र ठेक्का प्रदायक संस्थाको उदासीनताका कारण पुल निर्माण सम्पन्न हुन सकेको छैन ।
डिभिजन सडक कार्यालय, चन्द्रनिगाहपुरले पप्पु-शिवशङ्कर जेभी, गरुडा रौतहटलाई जिम्मा लगाएको १२५ मिटर लामो ‘प्रिस्ट्रेस्ड आरसिसी’ पुलको निर्माण २०७३ साल जेठ २ गते सुरु भएको थियो । २०७५ साल असोज १५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि हालसम्म काम अधुरै छ ।
डिभिजन सडक कार्यालयले निर्माण सम्पन्न गर्न पाँच पटक म्याद थपेको भएपनि ठेकदार कम्पनीको लापरवाही र निर्माण सामग्रीको उचित व्यवस्थापन नहुँदा काम अलपत्र परेको छ ।
स्थानीयको गुनासो
पुल निर्माणको ढिलाइले स्थानीय बासिन्दाहरू निराश बनेका छन् । उनीहरूका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री र विद्युत् उपलब्ध गराइसकिएको थियो । तर न त पुल बनेको छ, न विद्युत महसुल बुझाइएको छ । निर्माण सामग्रीको रेखदेख गरेबापत दिनुपर्ने ज्याला पनि वर्षौंदेखि रोकिएको छ ।
डिभिजन सडक कार्यालयको प्रतिक्रिया
डिभिजन सडक कार्यालयका सूचना अधिकारी शिवनारायण साहका अनुसार निर्माण कम्पनीले एकै समयमा छ वटा पुल निर्माणको ठेक्का पाएकाले लमाहा पुल समयमा सम्पन्न हुन नसकेको हो ।
पुल निर्माणका लागि मूल्य अभिवृद्धि करसहित कुल ९ करोड २२ लाख ७७ हजार ५५९ रुपैयाँमा ठेक्का स्वीकार गरिएको थियो । कार्यालयले हालसम्म निर्माण कम्पनीलाई ५ करोड ४५ लाख ४५ हजार ८२८ रुपैयाँ भुक्तानी गरिसकेको छ ।
स्थानीयले भोगेको समस्या
पुल अधुरै हुँदा स्थानीयले घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । यसले उत्पादन भएको खाद्यान्न र तरकारीको ढुवानी गर्न समस्या उत्पन्न गरेको छ । गुजरा नगरपालिकाको रङ्गपुर र कोठियारका किसानहरूले पुल निर्माण कार्य शीघ्र सम्पन्न गर्न माग गरेका छन् ।
ठेकदारमाथि कारबाहीको माग
पुल निर्माणको ढिलाइ प्रति असन्तुष्टि जनाउँदै किसान तथा स्थानीय बासिन्दाले ठेकदारले काम सुरु नगरेमा कानुनी कारबाही अघि बढाउन र वैकल्पिक व्यवस्था गर्न सडक कार्यालयलाई आग्रह गरेका छन् ।
एक दशकदेखि अधुरो पुलले विकास निर्माणमा देखिएको लापरवाही र कमजोर अनुगमन प्रणाली प्रति गम्भीर प्रश्न खडा गरेको छ । स्थानीयले समस्या समाधानका लागि अब ठोस कदम चाल्न आग्रह गरेका छन् ।




