महोत्तरी । बहुचर्चित पुरातात्त्विक हतियार कारखानालाई पर्यटनसगँ जोडने प्रक्रिया सुरु भएको छ । जर्मन अनुसन्धानकर्ता गुड्न कर्विन्सले पत्ता लगाएको बर्दिवासमा रहेको मध्यपाषण युगको हतियार कारखानालाई पुरातात्त्विक पर्यटन केन्द्र बनाउने प्रक्रिया प्रारम्भ भएको हो ।
शनिबार पुरात्तत्व विभागबाट भास्कर ज्ञवालीको नेतृत्वमा आएको भुगर्भ टोलीले जिपिएसको माध्यमबाट हतियार कारखाना रहेका ठाउँहरु पहिचान गरेसँगै ऐतिहासिक पर्यटन केन्द्र बनाउने बाटो खुल्ला भएको छ ।
काठमाडौं फर्किएपछी प्रारम्भिक चरणमा गर्नुपर्ने कामहरुको विषयमा नगरपालिकालाई पत्र पठाउने विभागले जनाएको छ । १० हजार देखि १२ हजार वर्ष पहिला मानिने उक्त पुरातात्त्विक हतियार कारखानाको आधारभूत काम गर्न संघिय र प्रदेश सरकारले झण्डै १ करोड भन्दा बढी बजेट समेत विनियोजन गरिसकेको छ ।
यस्को लागि बर्दिवास नगर पर्यटन वोर्डले काम गर्ने प्रक्रियामा अग्रसरता लिएको छ । नेपाल कै पुरातात्त्विक हिसावले महत्वपूर्ण ठाउँ मानिएको बर्दिवासको पाटु क्षेत्रमा तीनै तहका सरकारको ध्यानाकर्षण भएसगैँ स्थानियले खुसी व्यक्त गरेका छन् ।
‘अब भने बर्दिवासमा समृद्धि मुख्य आधार तयार हुँदैछ, हामी निक्कै उत्साहित छौं,’ बर्दिवास ३ का रमेश खत्रीले भने, ‘लामो प्रतीक्षापछि एउटा सुनौलो गन्तव्य प्रारम्भ भएको छ ।’
जर्मन नागरिक गुड्न कर्विन्सले लेखेको ञप्रिहिज्टोरिक कल्चर्स इन नेपालझ भन्ने किताबमा रातु नदी वरपरको मानव सभ्यता र मध्यपाषण युगमा मान्छेको चहलपहलको विषयमा प्रकाशन गरे पछि चर्चा सुरु भएको थियो ।
१९८५ को दशकमा कर्विन्सले १० वर्ष लगाएर पत्ता लगाएको प्राग ऐतिहासिक रहस्य सन् २००७ मा उक्त किताबमा प्रकाशन भयो । कर्विन्सले गरेको उक्त अध्ययन वैज्ञानिक भएको भन्दै नेपालभरका ऐतिहासिक स्थलमध्ये बर्दिवास महत्वपूर्ण रहेको विभागका उपसचिव भास्कर ज्ञवालीले बताए ।
उनले पत्ता लगाएका ठाँउहरुमा ७ हजार वर्ष पहिलासम्म मानिसहरु बसोबास गर्ने गरेको भुगर्भविदहरुले दावी गरेका छन् । उक्त पुरातात्त्विक स्थलहरुमा मान्छेले तत्कालिन समयमा प्रयोग गर्ने पानीका डोविल्का समेत भेटिएका छन् ।
यी ठाउँहरुका विषयमा थप खोजी गरे थप रहस्यहरु उजागर हुने उपसचिव ज्ञवालीले विश्वास ब्यक्त गरे । पछिल्लो समय पाटुका यी ठाउँहरु उत्त्खनन र अतिक्रमणको चपेटामा परेको बताउँदै यसलाई सरकारबाट नै संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने भुगर्भ तथा पुरातात्त्विक विदहरुले सुझाव दिएका छन् ।
यो आर्थिक वर्षमा पुरातात्त्विक स्थलहरु पहिचान गरि नापी नै गर्नुपर्ने र उक्त क्षेत्रमा घेरावारा तत्काल लगाउनु पर्ने पुरातत्त्व विभागले जनाएको छ । नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले समेत यस ठाउँको संरक्षण गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्वता व्यक्त गरेका छन् ।




