सर्लाही । सर्लाहीमा कुटपिट तथा ज्यान मार्ने उद्योगका आरोपी प्रहरीको हिरासतबाटै फरार भएका छन् । प्रहरी चौकी सुन्दरपुरको हिरासतमा रहेका कुटपिट तथा ज्यान मार्ने उद्योगका आरोपी चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुरका २५ वर्षीय कमलेश यादव फरार भएका हुन् ।
यादवलाई बुधबार स्थानीय दुई जना युवतीलाई भारत तर्फ भगाएर लाँदै गरेको अवस्थामा युवतीका अभिभावकले समातेर प्रहरी चौकी सुन्दरपुरको जिम्मा लगाएका थिए ।
हिरासतबाट भागेका यादव सहित सुन्दरपुरका चन्दन यादव, रंजित यादव, संतोष यादव र रौशन यादव माथि सुन्दरपुरकै कृष्ण कुमार साहलाई ज्यान मार्ने मनसायले निर्घात कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा मुद्दा दर्ता भएको थियो ।
२०७७ साल जेष्ठ २६ गते राति करिब १२ बजे स्थानीय सुशील साहको घरबाट बिहेको भोज खाएर फर्किरहेको अवस्थामा आरोपित युवकहरु लगायत ८–१० जनाको समूहले कुष्णलाई बाटोबाटै अपहरण गरि लखनदेही खोला नजिक लगेर मरन्नसान्न हुने गरि निर्घात कुटपिट गरि सोही खोलामा फालेर भागेका पिडितका दाइ जयनारायण साहले बताउनु भयो ।
स्थानीयबासीले कुटपिटबाट शरिर भरि गहिरो घाउ चोट लागेको र खुट्टा भाँच्चिएको अवस्थामा पिडितलाई खोलाबाट उद्धार गरि तत्कालै जिल्ला अस्पताल सर्लाहीमा पुर्याएको पिडितका दाइ जयनारायणले बताएका छन् । उनीहरु विरुद्ध करिब १ वर्ष पहिला मुद्दा दर्ता भएको थियो ।
प्रहरीले हालसम्म एक जना आरोपीलाई पनि पक्राउ गर्न सकेको छैन । बल्लबल्ल आरोपीहरु मध्येको एक जना पक्राउ परेपनि प्रहरीकै हिरासतबाट फरार भएका छन् । पक्राउ परेका यादवलाई भगाउनमा प्रहरी चौकी सुन्दपुरका प्रमुख प्रहरी सई नन्दलाल यादवको हात रहेको पिडितका दाइ जयनारायणको आरोप छ ।
बिहिबार दिउँसो सुन्दरपुरबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आएका पिडित पक्षले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीलाई भेटेर आरोपीहरुलाई जतिसक्दो चाँडो पक्राउ गर्न र पक्राउ परिसकेका आरोपीलाई भगाउन मद्दत गर्ने सइ नन्दलाललाई कार्यवाही गर्न आग्रह गरेका छन् ।
प्रहरी नायव उपरिक्षक बुढाथोकीले आफुहरुले ती आरोपीहरुलाई चाँडोभन्दा चाँडो पक्राउ गर्ने र पक्राउ परेका आरोपीलाई हिरासतबाट भगाउन मद्दत गरेको पाईए सई नन्दलाल उपर विभागीय कार्यवाही गर्ने आश्वासन दिनु भएको पिडितका दाजु जयनारायणले बताएका छन् ।






