काठमाडौं । चन्द्रागिरि नगरपालिका २ का वडाध्यक्ष भाइकृष्ण तामाङ घुस लिएको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले मंगलबार तामाङलाई दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार तामाङले ललितपुर उपमहानगरपालिका वडा नं. २२ बाट एक उद्योग चन्द्रागिरिमा स्थानान्तरण गर्नका लागि घुस लिएको पुष्टि भएको छ ।
उर्मिला पाण्डेय तथा उनका साझेदारसँग व्यवसाय स्थानान्तरणका लागि सिफारिस गरिदिने भन्दै तामाङले ४ लाख रुपैयाँ घुस मागेको उजुरी परेको थियो । उनले सेवाग्राहीसँग २ लाख नगद लिइसकेको तथा बाँकी २ लाखको चेक आफ्नो नाममा लिइसकेको अवस्थामा पक्राउ परेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानपछि प्रमाण फेला पारेपछि गत असार २० गते तामाङविरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतको फैसला अनुसार तामाङलाई ६ महिना कैद र ४ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।




