कञ्चनपुर । कञ्चनपुरको चुरे पर्वत शृङ्खलाको घना वन क्षेत्रको बीचमा अवस्थित सुनदेवी ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक अद्भुत स्थल हो । सूर्यका किरण तालको सतहमा पर्दा पूरै पहेँलो झल्किन्छ, जसका कारण यो ताललाई ‘सुनदेवी’ नामकरण गरिएको हो ।
शुक्लाफाँटा नगरपालिका ८ मा पर्ने यो ताल मनोरम प्राकृतिक वातावरणले भरिएको छ । यहाँ विभिन्न प्रजातिका चराहरूको चिरबिर आवाजले मन आनन्दित पार्छ । वन क्षेत्रमा विचरण गर्ने चित्तल, बँदेल, बाँदर, दुम्सी लगायतका वन्यजन्तु तथा आकाशमा फर्फराइरहेका मयुर, लाटोकोसेरो, धनेस लगायतका चरा देख्दा जो कोही पनि रोमाञ्चित हुन्छन् ।
यस क्षेत्रमा फुलेका विविध प्रजातिका फूलहरूले यसको सौन्दर्यलाई अझ बढाएका छन् । तर, पर्याप्त प्रचार प्रसारको अभावमा यो क्षेत्र अझै ओझेलमा परेको छ । सुनदेवी तालसम्म पुग्ने सडक पूर्वाधार हालसम्म विकास हुन सकेको छैन ।
पूर्वपश्चिम राजमार्गको वन समितिबाट करिब आठ किलोमिटरको दूरीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनसम्म सवारी साधनमा यात्रा गर्न सकिएपनि त्यसपछि तालसम्म पुग्नका लागि पाँच किलोमिटरको पैदल यात्रा गर्नु अनिवार्य हुन्छ ।
यातायात तथा प्रचार प्रसारको अभावका कारण यहाँ सीमित मात्रामा आन्तरिक पर्यटक र श्रद्धालुहरू मात्र पुग्ने गरेका छन् । ४०० मिटर लम्बाइ र २०० मिटर चौडाइ भएको यस तालको पानी हावाको बहावअनुसार नीलो वा पहेँलो देखिने गर्छ ।
चारैतिर घना वन क्षेत्र भएपनि तालमा रुखका पातहरू देखिँदैनन् । ताललाई जुन कोणबाट हेरिए पनि यसको सही लम्बाइ र चौडाइ निर्धारण गर्न कठिन हुन्छ । चुरे क्षेत्रका अन्य तालमा माछा पाइए पनि सुनदेवी तालमा भने माछा पाइँदैन ।
तालको किनारमा स्थानीय बासिन्दाहरूले पूजा गर्दै आएको सुनदेवीको प्राचीन भगवती थान अवस्थित छ । यो थान खुला आकाशमुनि रहेको छ भने यहाँ सन् १६७३ का ठूला घण्टीहरू छन्, जसले यो क्षेत्र धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको पुष्टि गर्छ ।
जनविश्वास अनुसार, यस स्थानमा भाकल गरेपछि निःसन्तान दम्पतीले सन्तान प्राप्त गर्छन् भन्ने मान्यता छ । त्यसैले नवरात्रका अवसरमा विशेष रूपमा यहाँ भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । स्थानीय समाजसेवी दुर्गादत्त भट्टका अनुसार विवाह, व्रतबन्ध तथा नानीहरूको कपाल मुण्डनका लागि पनि भक्तजनहरू यहाँ आउने गर्छन् ।
उनी भन्छन्, ‘यदि यो पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सकियो भने यसको विकासमा टेवा पुग्नेछ। तालसम्म पुग्ने सडकको व्यवस्था गर्न सकिए स्थानीय युवाहरूका लागि रोजगारीका अवसरहरू सिर्जना हुन सक्छन् । यसको लागि स्थानीय तहले विशेष चासो दिनुपर्छ ।’
शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता लालबहादुर ऐरले पनि यस पर्यटकीय स्थलको विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘तालसम्म पुग्ने सडक निर्माणका लागि स्थानीय तहको बजेट मात्र पर्याप्त नहुने भएकाले हामी प्रदेश र संघीय सरकारसँग समन्वय गर्नेछौं,’ उनले भने, ‘पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि योजनाबद्ध रूपमा कार्यान्वयन अघि बढाउनेछौं । तराई क्षेत्रमा सवारीसाधनमार्फत पुग्न सकिने सडक तथा चुरे क्षेत्रमा पदमार्ग निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजना बनाइनेछ ।’
तालको दक्षिणतर्फ करिब सात किलोमिटर टाढा अवस्थित स्टेसनपुर क्षेत्र ऐतिहासिक महत्त्व बोकेको ठाउँ हो । अंग्रेजहरूले काठ ओसार्नका लागि प्रयोग गरेको पुरानो रेल स्टेसन यहीँ रहेको थियो । स्थानीय बासिन्दाका अनुसार, अंग्रेजहरूले झण्डा गाडेको स्थानलाई अहिले ‘झण्डाबोझ’ भनेर चिनिन्छ ।
इतिहासविद्हरू भन्छन् कि जङ्गबहादुर राणालाई अंग्रेजहरूले नयाँ मुलुक फिर्ता दिएपछि यहाँको रेल प्रणाली हटाइएको थियो । आज पनि जङ्गलको बीचमा रेल कुदाउन बनाइएका पुराना पगडण्डीहरू तथा त्यहाँ प्रयोग गरिएका काठका अवशेषहरू देख्न सकिन्छ । यदि उचित योजनाका साथ सुनदेवी ताल क्षेत्रको विकास गर्न सकियो भने यो एक प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ ।




