पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले लागूऔषध नियन्त्रणका क्रममा चार राउन्ड गोली प्रहार गरेको छ । गएराति रामग्राम नगरपालिका १२ पचगाँवाका राजेश लोनियाको घरबाट लागूऔषध (ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थ) नियन्त्रणमा लिन खोज्दा झडप भएपछि प्रहरीले गोली चलाएको हो ।
नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी रेशम बोहराका अनुसार लोनियाले बिक्री वितरणका लागि लागूऔषध घरमा राखेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको कमान्डमा पाँच जनाको टोली उनको घरमा पुगेको थियो ।
नियन्त्रणको प्रयास गर्दा लोनियाले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि अवस्था तनावपूर्ण बनेको थियो । प्रहरीका अनुसार भाग्न खोज्दा प्रहरीले गोली प्रहार गर्दा लोनियाको बायाँ खुट्टामा एक राउन्ड गोली लागेको छ । उनलाई जिल्लास्थित पृथ्वीचन्द्र अस्पतालमा उपचारका लागि लगिएको छ, जहाँ उनको अवस्था सामान्य रहेको जनाइएको छ ।
प्रहरी टोलीले घटनास्थलबाट ९३ पुरिया ब्राउनसुगर बरामद गरेको छ । यस घटनामा संलग्न अर्का एक व्यक्ति फरार भएका छन् । प्रहरीले उनको पनि खोजी गरिरहेको जनाएको छ ।




