पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १२ पचगाँवामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न खोज्दा प्रहरीले चार राउण्ड गोली प्रहार गरेको छ । प्रहरीको गोली लागेर एक व्यक्ति घाइते भएका छन् भने अर्का एक जना फरार छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी एवम् सूचना अधिकारी रेशम बोहराका अनुसार गएराति ८ बजे लागूऔषध (ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ) नियन्त्रणमा लिन खोज्दा झडप भएपछि प्रहरीले गोली चलाएको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको कमाण्डमा गएको पाँच जनाको टोलीले रामग्राम नगरपालिका १२ पचगाँवाका राजेश लोनियाको घरमा छापा मारेको थियो ।
प्रहरीले परिचय दिएर खान तलासी गर्न खोज्दा लोनियाले प्रतिरोध गर्दै प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए । उनलाई रोक्ने क्रममा भाग्न खोज्दा प्रहरीले गोली प्रहार गर्दा उनको बायाँ साप्रामा गोली लागेको डिएसपी बोहराले जानकारी दिए ।
घाइते लोनियाको अवस्था मध्यम छ र बोल्न सक्ने अवस्थामा छन् । हाल उनलाई जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनास्थलबाट ९३ पुरिया ब्राउनसुगर बरामद गरेको छ भने लागूऔषध कारोबारमा संलग्न अर्का एक व्यक्ति फरार रहेका छन् ।
पछिल्लो समय जिल्लामा लागूऔषध कारोबार बढ्दै गएकाले प्रहरीले कडा निगरानी बढाएको जनाएको छ ।




