झापा । आफ्नै १५ वर्षीया छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड ९ का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड ९ का अन्दाजी ४५ वर्षीय प्रकाश भनिने व्यक्ति रहेका छन् ।
उनले छोरीलाई साथीहरूसँग घुम्न गएको भन्दै कोठामा थुनेर पिलासले टाउको फुटाइदिएका थिए भने भाटाले तिघ्रा, ढाड र हातमा गम्भीर चोट पुर्याउने गरी कुटपिट गरेका थिए ।
घटना बारे जानकारी दिँदै पीडित किशोरीकी आमाले आफू घर बाहिर भएको बेला श्रीमानले छोरीलाई कुटपिट गरेको बताइन् । उनका अनुसार, उक्त व्यक्तिले यसअघि पनि छोरीलाई पटक पटक कुटपिट गर्ने गर्थे ।
छिमेकीहरूले पनि उनले छोरीलाई शारीरिक यातना दिने गरेको पुष्टि गरेका छन् । हाल उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




