नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सरावल गाउँपालिका १ सालबासस्थित पूर्वपश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन् ।
गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश नं. ३-०२-००६ प ९८३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार रुपन्देहीको शुद्धोधन गाउँपालिका अमहवा निवासी २८ वर्षीय कमल परियारको मृत्यु भएको हो ।
मोटरसाइकल चालक नुवाकोटको लिखु गाउँपालिका ३ का २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन् । उनको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल सडकको बीचमा रहेको पेटीमा ठोक्किँदा दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई तत्कालै अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता डीएसपी रेशम बोहोराले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




