काठमाडौं । नेपाल प्रहरीका विशिष्ट व्यक्तिको नाम र दर्जा दुरूपयोग गरी साइबर ब्यूरोको नक्कली ईमेल बनाई ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी देवानगंज गाउँपालिका ७ निवासी २० वर्षीय मनिष कुमार मेहता र सोही गाउँपालिका १ निवासी २१ वर्षीय ईन्द्रजित यादव रहेका छन् ।
नेपाल प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा तथा कार्यालयको लोगो दुरूपयोग गरी साइबर ब्यूरोको फेक ईमेल बनाइ पीडितलाई डर त्रासमा पार्दै रकम माग गरी ठगी गरेको उजुरीका आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीको समेत सहयोग रहेको थियो । यस घटनामा संलग्न रहेका उनीहरू उपर विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा कारबाही अघि बढाइएको छ ।
काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमतिसहित प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




