बारा । जीतपुरसिमरा उपमहानगरपालिका ७ शान्तिटोलबाट तीन वर्षीय बालक ७ दिनदेखि बेपत्ता छन् । रौतहट जिल्ला दुर्गाभगवती गाउँपालिका १ भङ्गाहापिप्राका रितेश चौधरीका छोरा अंश चौधरी यही माघ १७ गते बिहीबार बिहान साढे नौ बजेदेखि हराएका हुन् ।
बालक अंश विद्यालय जाने अन्य बालबालिकासँगै घरबाट निस्किएका थिए । जीतपुर बजारसम्म पुगेको सिसिटिभी फुटेजमा देखिए पनि त्यसपछि उनको अवस्था अज्ञात रहेको छ । बिहान ९स्५६ सम्म उनी सिसिटिभीमा देखिए पनि त्यसपछि उनी बेपत्ता भएका हुन् ।
अंशका हजुर बुबा सतीश जयसवालले अंश सम्पर्कविहीन भएको करिब एक घण्टापछि जीतपुर प्रहरीलाई जानकारी गराएका थिए । तर, प्रहरीले पहिलो छ घण्टा बालक घर फर्कने आशामा प्रतिक्षा गरेको र त्यसपछि मात्र खोजी कार्यलाई तीव्रता दिएको बताइएको छ । तर, ७ दिन बितिसक्दा पनि अंशको कुनै पत्ता लाग्न सकेको छैन ।
हराएका बालकको खोजी कार्यमा प्रहरी लागिपरेको बताइएको छ । बारा प्रहरी प्रमुख सन्तोष तामाङ, इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी उपरीक्षक सुभद्रा वाइवा तथा सांसद किसान श्रेष्ठ अंशको मामाघरमा पुगेका थिए । सांसद श्रेष्ठले अंशको शीघ्र खोजी गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
प्रहरी उपरीक्षक वाइवा र प्रहरी उपरीक्षक तामाङले खोजी कार्यलाई व्यापक बनाइएको र छिट्टै अंशको पत्ता लाग्ने विश्वास व्यक्त गरेका छन् । प्रहरीले स्थानीय जनताको सहयोगका साथै सिसिटिभी फुटेजको विश्लेषण गरी अनुसन्धानलाई अघि बढाइरहेको जनाएको छ ।




