सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाले किसानको कृषि मिटरको विद्युत महशुल समयमा नबुझाउँदा नेपाल विद्युत प्राधिकरणले लाइन काट्न थालेको छ । गहुँ सिंचाइ गर्ने मुख्य समयमा विद्युत अवरुद्ध भएपछि किसानहरू समस्यामा परेका छन् ।
नगरपालिकाले दुई वर्षअघि किसानको विद्युत महशुल तिर्ने जिम्मा लिएको थियो । तर, लामो समयदेखि भुक्तानी नगरिएको कारण प्राधिकरणले ठूला कृषि मिटरको लाइन काट्न बाध्य भएको जनाएको छ ।
हालसम्म तीन वटा ठूला कृषि मिटरको लाइन काटिएको छ, भने नगरपालिकाको बाँकी बक्यौता करोडभन्दा माथि पुगेको छ । सिंचाइ मिटरको लाइन काटिएपछि सयौं किसान प्रभावित भएका छन् ।
किसानहरूका अनुसार गहुँबालीको सिंचाइ गर्नुपर्ने बेलामा लाइन काटिँदा ठूलो समस्या भएको छ । उनीहरूले नगरपालिकाले समयमा महशुल तिर्न नसक्ने भए जिम्मेवारी लिन नहुने बताएका छन् ।
प्राधिकरणले सामूहिक कृषि सिंचाइ मिटरको महशुल नबुझाइएको कारण लाइन काटिएको जनाएको छ । लाइन पुनः जडान गर्न जरिवाना र थप खर्च किसानले नै बेहोर्नुपर्ने स्थिति आएको छ ।
एउटै मोटरले ठूलो क्षेत्रफलमा सिंचाइ गरिरहेका किसानहरू विद्युत अभावका कारण मारमा परेका छन् । नगरपालिकाले चालु आर्थिक वर्षमा कृषि विद्युत महशुल तिर्न ४५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा २० लाख रुपैयाँ तिरिएको थियो । तर, उठेको महशुल रकम बजेटभन्दा बढी भएका कारण भुक्तानी गर्न समस्या भएको नगरपालिकाले जनाएको छ । समस्या समाधानका लागि कार्यपालिका बैठकमा छलफल गरी निकास निकालिने नगरपालिकाका अधिकारीहरूले जानकारी दिएका छन् ।




