बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित मामाघरबाट १० दिनअघि बेपत्ता भएका तीन वर्षीय बालक अंश चौधरी मृत फेला परेका छन् ।
रौतहटको दुर्गा भवानी गाउँपालिका १ का बालक चौधरीको शव शनिबार दिउँसो पर्साको वीरगञ्ज महानगरपालिका ३२ र जितपुर सिमरा उपमहानगरपालिका ७ को सिमानामा पर्ने कियासोत खोलामा डुबेको अवस्थामा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार बालकको शव पानीमा डुबेको अवस्थामा फेला परेको छ । प्रहरीले बेपत्ता बालकको खोजीका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो ।
बालक बेपत्ता भएपछि परिवारले जानकारी दिने व्यक्तिलाई १ लाख रुपैयाँ इनाम घोषणा गरेका थिए । साथै, बारा संसदीय क्षेत्र ४ का सांसद कृष्ण कुमार श्रेष्ठ ‘किसान’ले पनि सूचना दिने व्यक्तिलाई व्यक्तिगत रूपमा ५१ हजार रुपैयाँ इनाम दिने घोषणा गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बालकको मृत्यु डुबेर भएको आशंका गरिएको छ । यद्यपि, घटनाको विस्तृत विवरण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने प्रहरीले जनाएको छ । मृतक बालकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको छ ।




