रौतहट । जिल्ला अदालत रौतहटका न्यायाधीश मनोज केसीविरूद्ध एक परिवारले ६ दिनदेखि लगातार धर्ना तथा प्रदर्शन जारी राखेका छन् । हत्या आरोपितलाई आर्थिक चलखेलको आधारमा सफाइ दिएको भन्दै पीडित परिवारले माघ २१ गतेदेखि न्यायाधीश केसीविरुद्ध जिल्ला अदालत रौतहट अगाडि प्रदर्शन गरिरहेका छन् ।
पीडित परिवारले आइतबार पनि प्रदर्शन जारी राखे । पीडित परिवारले रौतहट जिल्ला अदालत घेराउ गर्दै न्यायाधीश केसीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । पसलमा उधारो सामान नदिएको रिसइबीको कारण २०७६ असार ४ गते राति १० बजे विनोद गुप्तालाई गाउँकै एक समूहले कुटपिट गरेको थियो ।
टाउकोमा गम्भीर चोट लागेका विनोदको उपचारको क्रममा नेशनल मेडिकल कलेज वीरगन्जमा ६ दिनपछि असार १० गते मृत्यु भएको थियो । मृत्युलगत्तै उनका भाइ राजन गुप्ता र श्रीमती अनिता देवीले दिएको जाहेरीको आधारमा १३ वर्षीय नाबालकसहित विन्देश्वरी सिंह, रामकिशोर सिंह, रोहितकुमार सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, वडाबाबु सिंह र रामविनोद सिंहमाथि तत्कालै जिल्ला प्रहरी कार्यालय रौतहटले कर्तव्य ज्यान अगाडि बढाएको थियो ।
नाबालक तथा रामकिशोर सिंह र रामविनोद सिंह एक वर्षअघि प्रहरीले पक्राउ गरी कारबाहीको लागि जिल्ला अदालत रौतहटमा मुद्दा पेश गरेको थियो । उनीहरूमध्ये नाबालक १३ वर्षीयलाई तत्काल सुधारगृह वीरगन्ज र पछि अभिभावकको जिम्मा लगाएको थियो ।
अन्य, दुवै जना रामकिशोर सिंह र रामविनोद सिंहलाई तत्काल जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएको थियो । धरौटीमा छुटेर तारेखमा रहेका अभियुक्त दुवै जना रामकिशोर सिंह र रामाबिनोद सिंहलाई गत २० गते आइतबार जिल्ला अदालतमा रौतहटमा पेस गर्दा न्यायाधीश केसीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइको फैसला सुनाएको थियो ।
नाबालक आरोपितको आइतबार पेशी बयानको बहस चलिरहँदा पीडित परिवारले माइक लिएर रौतहट अदालतको मुल गेटमा न्यायाधीश, अदालतका कर्मचारीसँगै प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।
‘हाम्रो सिङ्गो परिवार सरुअठा गाउँमा सुरक्षित छैनौं, किनभने पैसाको बलमा अपराधीलाई उम्काउने काम न्यायालयबाट भएको छ, प्रहरीले पनि धर्ना दिएको दिनदेखि दुख दिइरहेको छ,’ मृतकका भाइ राजन गुप्ताले भने ।
जिल्ला अदालत रौतहटका श्रेष्तेदार उद्धव ढोडारीले उक्त मुद्दामा दुई जना सफाइ पाएको र नाबालकलाई कसुर ठहर गर्दै १२ वर्ष कैद सजायको फैसला भएको बताएका छन् ।
मृतक रामविनोद गुप्ताकी श्रीमती अनिता देवीले उक्त फैसला आर्थिक चलखेलको आधारमा भएको आरोप लगाउँदै आरोपितहरूलाई अविलम्ब पक्राउ गरी कारबाहीको दायरामा नल्याएसम्म आन्दोलन जारी रहने बताइन् ।




