झापा । जिल्ला प्रशासन कार्यालय, झापाका सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै वैदेशिक रोजगार ठगी सम्बन्धी छलफलका क्रममा विवाद चर्किएर कुटाकुट भएको छ ।
प्रहरीका अनुसार भद्रपुर १० का सागर मगर, विष्णु खड्का, वडा नं. ४ का उत्सव राय, वडा नं. ९ का प्रवीण राई तथा वडा नं. ८ का उज्ज्वल खवास कम्बोडिया जाने क्रममा ठगीमा परेको भन्दै प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।
उनीहरूले भद्रपुर ६ का सञ्जय यादव र सुरेन्द्र यादवविरुद्ध ठगी गरेको आरोप लगाएका थिए । उक्त विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालयमा बैठक बोलाइए पनि छलफलकै क्रममा विवाद चर्किंदै हात हालाहालको अवस्था सिर्जना भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले आफूले चुप लाग्न आग्रह गरेपनि होहल्ला जारी राखेपछि प्रहरीलाई बोलाएर नियन्त्रणमा लिन लगाएको बताए । उनका अनुसार कुटाकुट कार्यकक्ष बाहिर भएको थियो ।
प्रहरीले झगडामा संलग्न पाँच जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगेको थियो । तर, साँझपख उनीहरूलाई रिहा गरिएको प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए ।




