झापा । झापामा अर्का व्यक्तिको नाममा मोटरसाइकल लाइसेन्सको प्रयोगात्मक परीक्षा दिँदै गर्दा दुई जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार इलाम माङसेबुङ गाउँपालिका ३ निवासी ३४ वर्षीय सुजन राईको सट्टामा पाँचथर मिक्लाजुङ गाउँपालिका ४ निवासी ३८ वर्षीय सुजन राई परीक्षामा सामेल भएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
घटना आइतबार झापाको कान्तिपुर ट्रायल सेन्टर, बिर्तामोडमा भएको हो, जहाँ यातायात व्यवस्था कार्यालय, झापाले ए. के वर्गको प्रयोगात्मक परीक्षा सञ्चालन गरिरहेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय, बिर्तामोडमा बुझाएको छ । प्रहरीका अनुसार उनीहरूविरुद्ध म्याद थप गरी थप अनुसन्धान भइरहेको डीएसपी प्रकाश विष्टले जानकारी दिए ।




