धनगढी । कैलालीको धनगढीस्थित ट्राफिक चौराहामा ड्युटीमा रहेका प्रहरीले चक्कु प्रहारको प्रयास गरेका एक युवकलाई नियन्त्रणमा लिएको छ । मंगलबार राति सवा ८ बजे हातमा चक्कु बोकेर ‘हरहर महादेव’ भन्दै सडकमा होहल्ला गर्दै हिँडिरहेका एक युवकले प्रहरी माथि चक्कु प्रहार गर्न खोजेका थिए ।
सडकमा गडबडी मच्चाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिन खोजेको थियो । तर, नियन्त्रणमा लिन नसकेको भन्दै स्थानीयहरूले प्रहरीको आलोचना गरेपछि एक प्रहरीले उनलाई पछाडिबाट लाठी प्रहार गरे ।
त्यसपछि ती युवकले प्रहरीलाई चक्कु प्रहार गर्ने प्रयास गर्दै लखेटेका थिए । तर, केहीबेरमै प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी पदमबहादुर विष्टले जानकारी दिए ।
पक्राउ परेका युवक मानसिक सन्तुलन गुमाएको आशंका
एसपी विष्टका अनुसार, पक्राउ परेका युवक धनगढी उपमहानगरपालिका १४ निवासी ३६ वर्षीय टेकबहादुर टमाटा हुन् । उनको मानसिक सन्तुलन बिग्रिएको भन्ने बुझिएको छ ।
एसपी विष्टले भने, ‘मंगलबार राति नै उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ ।’ प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




