बारा । बाराको आदर्शकोतवाल गाउँपालिका ७ कोतवालीस्थित सडकमा बिहीबार बेलुकी दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
बीआर ०५ एई ८०४४ नम्बरको मोटरसाइकल र बीआर ३२ जि ७२७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा सिम्रोनगढ नगरपालिका २ महुआई टोलका २२ वर्षीय प्रदीप साह र बारागढी गाउँपालिका ४ सुखीपथरा बस्ने ५१ वर्षीय शिवदयाल प्रसाद साहको ज्यान गएको हो ।
गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि एलएस न्युरो अस्पताल, परवानिपुर लगिएको थियो, जहाँ उपचारकै क्रममा दुबै जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । तीमध्ये दुई जनाको उपचार सोही अस्पतालमा भइरहेको छ भने एक जनालाई राज लक्ष्मी रिलिफ अस्पताल, कलैया लगिएको छ । प्रहरीले दुर्घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




