मकवानपुर । मकवानपुरमा ट्रकले अटोलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार बेलुकी ७:५० बजे हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङमा चितवन जाँदै गरेको ना ४ ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट अटोमा सवार मनहरी गाउँपालिका ६ खयरघारीकी ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि सिएमसी चुरेहिल अस्पताल मकवानपुर लगिएको थियो, तर राति ९:२० बजे उपचारका क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा अटो चालक हेटौंडा उपमहानगरपालिका १९ का २५ वर्षीय राजु थिङ गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ भने अटोमा सवार पूजाकै ११ वर्षीय छोरा अमृत घिसिङ पनि घाइते भएका छन् । मकवानपुर प्रहरीले उनको अवस्था मध्यम रहेको जनाएको छ ।
हाल घाइते दुवै जनाको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रकसहित ट्रक चालक चितवनको राप्ती नगरपालिका २ पिप्लेका ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




