पर्सा । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा, वीरगंज महानगरपालिका १६ निवासी ४५ वर्षीय गिनीलाल गुप्ता र भारत, बिहार पूर्वी चम्पारण थाना नकरदेही, ग्राम भवानीपुर ६ निवासी ४० वर्षीय जय प्रकाश साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका १५ स्थित केही होटलहरूमा जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभनमा पारेर होटलमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य पार्ने तथा वेश्यावृत्तिमा संलग्न गराउने कार्यमा संलग्न रहेको पाइएको जनाएको छ ।
प्रहरीले घटनास्थलबाट चार जना महिलाको उद्धार समेत गरेको छ । पक्राउ परेका अभियुक्तहरू उपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




