अचेल धेरै साथीहरूले सोध्छन्- ‘खै अचेल तिमी त हरायौ ?’ तर म के जवाफ दिउँ, जब आफैं आफ्नै जीवनको दौडधुपमा हराइरहेको छु ? बिहान उठ्नेबित्तिकै काममा लागेपछि दिनभरि समय कसरी बित्छ भन्ने थाहै हुँदैन । तर जब कुनै साथी एकछिन भेटौं न भन्छ, म जता पनि पुगेको हुन्छु । त्यसैले, जब तिनीहरू उल्टै सोध्छन्- ‘तिमी त अचेल हरायौ ?’, त्यस प्रश्नमा म मौन हुन्छु ।
मेरो दृष्टिकोणमा, साथीहरूसँगको सम्बन्ध केवल भेटघाटमा मात्र सीमित हुनु हुँदैन । सामाजिक संजाल आजकल एक यस्तो माध्यम बनेको छ, जसले नजिक नभएपनि एकअर्कालाई जोडिराख्छ । जब म कुनै साथीलाई सामाजिक संजालमा ‘के छ ?’ भनेर सोध्छु, तर पटक-पटक जवाफ आउँदैन भने, त्यसले मलाई सोच्न बाध्य बनाउँछ । यदि कुनै साथीले दुई तीन पटकसम्म जवाफ दिएन भने, फेरि उही प्रश्न सोध्नु पनि कठिन बन्छ ।
सामाजिक संजाल : सम्बन्धलाई मजबुत बनाउन वा तोड्न ?
सामाजिक संजालले मेरो जीवनमा ठूलो प्रभाव पार्छ । यो सम्बन्धलाई मजबुत बनाउने माध्यम पनि हो, तर कहिले काहीँ दूरी बढाउने कारण पनि बन्न सक्छ । मैले कुनै साथीलाई संजालमा ‘के छ ?’ भनेर सोध्दा उसले जवाफ नदिएमा, के त्यो सम्बन्ध केवल औपचारिकतामा सीमित भएको हो त ? यदि म संजालमा जोडिएर पनि नजिक छैन भने, त्यसको अस्तित्वको के अर्थ ?
साथीहरूसँग समय निकाल्ने प्रयास
म व्यस्त भएपनि साथीहरूसँग समय निकाल्ने प्रयास गर्छु । केवल भेटघाट मात्र होइन, सन्देश आदान प्रदान गरेर पनि सम्बन्धलाई मजबुत बनाउन सकिन्छ । साथीहरूसँगको सम्बन्ध एकतर्फी हुनु हुँदैन । यदि मैले सधैं पहल गरिरहनु पर्ने स्थिति आयो भने, त्यस्तो सम्बन्ध स्वाभाविक रूपमा टुट्न सक्छ ।
अतत: समयको व्यस्तताले साथीहरूसँगको सम्बन्धलाई प्रभाव पार्छ । सामाजिक संजाल जति नै विकसित भएपनि, यदि हामीले एक-अर्कालाई महत्व दिएनौं भने सम्बन्धहरू कमजोर बन्न पुग्छन् । सम्बन्धलाई जोगाइराख्न दुवै पक्षबाट प्रयास आवश्यक हुन्छ । त्यसैले, यदि कुनै साथीले सोध्छ- ‘खै अचेल तिमी त हरायौ ?’, त्यसको उत्तर दिनुअघि, मैले आफैंलाई सोध्नुपर्छ कि सम्बन्धलाई बचाइराख्ने जिम्मेवारी के केवल मेरो मात्र हो त ?




