सिरहा । सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुर तामासुइयाकी एक किशोरीले आत्महत्या गरेकी छन् । सामूहिक बलात्कारको घटनामा स्थानीय पञ्चायतले न्याय दिनुको सट्टा उल्टै धम्की दिएपछि ती किशोरीले आत्महत्या गरेको उनका परिवारले जनाएको छ ।
किशोरीकी आमाका अनुसार पञ्चहरुले घटना बाहिर लगे समस्यामा पर्ने भन्दै किशोरीलाई धम्काएका थिए । पञ्चहरुले आफ्नी छोरीलाई न्याय नदिएको र आरोपीहरुबाट एक लाख ४० हजार रुपैयाँ जरिवाना तिर्ने निर्णय भएको भोलिपल्ट छोरीले आत्महत्या गरेको उनको भनाइ छ ।
गत माघ २६ गते १७ वर्षीया रिंकुकुमारी सदायमाथि सामूहिक बलात्कार भएको थियो । शौचालय गएकी उनलाई तीन युवाले अपहरण शैलीमा उठाएर लगेर सामुहिक बलात्कार गरेका थिए । बलात्कारपछि ती युवाले अचेत रिंकुलाई राति करिब ३ बजे घर लगेर छाडेका थिए ।
होसमा आएपछि सोधपुछ गर्दा उनले तीन जनाले आफूलाई जबरजस्ती गरेको बताएको रिंकुकी आमाले जानकारी दिइन् । उक्त घटना बारे जानकारी दिए पश्चात भोलिटोल पञ्चायत बसेको थियो ।
पञ्चायतमा आरोपीहरु टिंकु मण्डल, चन्दन साह र रमेश मण्डल तथा तीनै जनाका अभिभावकहरुलाई पनि बोलाइएको थियो । तर, पञ्चहरुले घटना बाहिर लगे समस्यामा पर्ने भन्दै उल्टै पीडितलाई धम्काएको किशोरीकी आमाले बताइन् ।
पञ्चायत भएको केही घण्टामै किशोरीले घरमै झुण्डिएर आत्महत्या गरेको बताइएको छ । किशोरीका भाउजूका अनुसार घटनालाई अगाडि नबढाउन गाउँका सबैले दबाब दिएका थिए । मृतक किशोरीको शव धरानमा अलपत्र परेको छ ।
घटनास्थलबाट सोही दिन प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पुर्याएको थियो, तर त्यहाँ पोष्टमार्टम गरिएन । तीन दिन भइसक्दा पनि शव परिवारले बुझेको छैन । पीडित परिवारले सामूहिक बलात्कार भएकाले विस्तृत अनुसन्धान गर्न प्रहरीसमक्ष माग गरेको छ ।
घटनाका आरोपीहरुलाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेको भन्दै पीडित परिवारले गुनासो गरेका छन् । उनीहरुले बलात्कार मुद्दा लगाउनु पर्नेमा प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गरेको भन्दै आपत्ति जनाएका छन् ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी विष्णु सोतीले आत्महत्या दुरुत्साहन मुद्दा चलाएर घटनाको अनुसन्धान भइरहेको बताए । उनले सामूहिक बलात्कार भएको बताएपनि अनुसन्धान नभई त्यस बारे अहिले केही भन्न नसकिने बताए ।




