धनुषा । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका १ बालुवा खोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ ग्राम ३ सय ६० मिलिग्रामसहित सोही नगरपालिका १ छघरिया बस्ने ३२ वर्षीय राजेश यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले प्र २-०२-००४ प ९०३७ नम्बरको मोटरसाइकलमा सवार यादवलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो ।
यसैगरी, धनुषा जिल्लाको सबैला नगरपालिका १३ प्रसाही बस्ने ६५ वर्षीय महेश्वर मण्डल खत्वेलाई अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।
आइतबार साँझ प्रहरी चौकी बरमझियाबाट खटिएको टोलीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला परेको थियो । प्रहरीले दुबै पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।




