रौतहट । रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पताल मधेश प्रदेश मै उत्कृष्ट बनेको छ भने देशको टपटेन अस्पतालको सूचीमा पर्न सफल भएको छ । मधेश प्रदेश स्वास्थ मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्वान्यन कार्यक्रम अनुसार गरिएको अनुगमन निरिक्षण पछि कार्य सम्पादन मूल्यांकनको आधारमा उक्त घोषणा गरिएको हो ।
प्रादेशिक अस्पताल गौर मूल्यांकनको आधारमा कुल ८९ प्रतिशत मार्क ल्याएर मधेश प्रदेशको ६ वटा प्रादेशिक अस्पताल मध्ये १ नम्बर र देशकै ५० बेडका २० प्रादेशिक अस्पताल मध्ये उत्कृष्ट १० मा पर्न सफल भएको मेडिकल सुपरटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले न्युज कारखानालाई बताए ।
प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्वान्यन कार्यक्रम लगायत विभिन्न निकायका ७ सदस्यिय टोलीले आइतबारदेखि प्रादेशिक अस्पताल गौरको सुक्षम तरिकाले छड्के अनुगमन निरीक्षण सुरु गरेको थियो ।
अनुगमन निरीक्षण पश्चात सोमबार साँझ अस्पतालको सभाकक्षमा टोली प्रमुख नर्सिङ प्रशासक नवौं तह सुनिता गुप्ताको अध्यक्षतामा एक विशेष कार्यक्रमको आयोजना गरी नम्बरिङको निष्कर्ष निकालिएको अस्पताल विकास समितिका अध्यक्ष महमद अनवर हासमीले बताए ।
न्यूनतम सेवा मापदण्ड कार्वान्यन कार्यक्रम अन्तर्गत अनुगमन टोलीले अस्पतालले दिइरहेको सेवा, डाक्टर स्वास्थ्यकर्मीको अवस्था, उनीहरूले बिरामीसँग गर्ने ब्यवहार, भौतिक पूर्वाधारको अवस्था, एम्बुलेन्स, क्यान्टिन, बिरामीको बेड, अपरेसन कक्ष, शौचालयको अवस्था, सरसफाई, अस्पतालले बिरामीलाई दिने सुविधा लगायतको मूल्यांकन गरी छुट्टाछुट्टै नम्बर दिने गरेको अध्यक्ष हासमीले जानकारी दिए ।
कार्यक्रममा बक्ताहरुले केही समय अघिसम्म जिल्ला गौर प्रादेशिक अस्पताल रेफरल अस्पतालको नामले परिचित भएको थियो । तर वर्तमान अस्पताल विकास समितिका अध्यक्ष हासमी, मेडिकल सुरिटेण्डेण्ट डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरमा कार्यरत सम्पूर्ण डाक्टर, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी अहोरात्र खटेर यो पहिचान कायम गर्न सफल भएको बताएका थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रौतहतका प्रशासकिय अधिकृत मनिष झा, मेसु डाक्टर ठाकुर, अध्यक्ष हासमी, स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश कुमार सिंह, मधेस प्रदेश एमएमएस स्कोरिङ टिमका पदाधिकारीहरु लगायत अस्पतालको सम्पूर्ण कर्मचारी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रादेशिक अस्पताल गौरमा यस आर्थिक वर्षको ७ महिनामा विभिन्न जटिल अपरेसन, सघन सेवासहित ४३ हजार भन्दा बढी बिरामीलाई उपचार सेवा दिएको छ । गत साउन देखि माघ मसान्तसम्म २६ हजार ९६३ ओपिडी र १७ हजार ३३१ ईमरजेन्सी विरामीको उपचार भएको अस्पतालको तथ्यांकमा उल्लेख गरिएको छ ।
उक्त अवधिमा १३ हजार ९५८ बिरामीको रगत लगायत विभिन्न परीक्षण, ७ हजार ४९८ जनाको एक्सरे भएको छ । त्यस्तै २३ सय ५७ गर्भवती महिलाको नर्मल सुत्केरी र ४२६ जनाको पेटको अपरेसन गरेर सुत्केरी भएको अस्पतालका सर्जन डाक्टर शम्भुकुमार साहले बताए ।
त्यसैगरी ६७ जना बिरामीको हडी सम्बन्धी अपरेसन, ६६ जनाको अन्य अपरेसन, २१ जना बिरामीलाई विभिन्न रोगविरुद्ध थेरापी, अन्य ८५ जना जटिल रोगको उपचार गरिएको उनले जानकारी दिए ।
त्यस्तै प्रादेशिक अस्पताल गौरमा पछिल्लो समय किड्नी सम्बन्धी बिरामीको डायलासिस सेवा पनि सुरु भएको छ । अस्पतालमा रहेको ३ वटा मेशिनको सहयोगले दैनिक बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म १५ जना बिरामीको डायलासिस भइरहेको तथ्यांकमा उल्लेख छ ।




