कैलाली । कैलाली जिल्लामा प्रहरीले विभिन्न स्थानहरूबाट लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका ५, यातायात कार्यालय पछाडि सडक छेउबाट मंगलबार दिउँसो ३१.७३० ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र २.१७५ किलोग्राम चरेशसहित २ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा बझाङ केदारस्युँ गाउँपालिका ६ बस्ने २६ वर्षीय गोविन्द बहादुर धामी र २८ वर्षीय लोकेन्द्र बोहरा रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी, धनगढी उपमहानगरपालिका ८, नवदुर्गा टोलबाट १.१२० ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँका ३० वर्षीय भक्तराज जोशी रहेका छन् । प्रहरीले मंगलबार राति उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
यसैगरी, गोदावरी नगरपालिका ६, लालपुर बजारबाट १.३७० ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २२ वर्षीय करण नेपाली र २४ वर्षीय बाजी आउजी रहेका छन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले सबै पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको जनाएको छ ।




