बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका ८ मोटाबाडामा बिहे भोजमा निम्तो खान गएका दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपका क्रममा बुढीगंगा ८ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय रणबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार राति भएको झडपमा गम्भीर घाइते भएका थापालाई उपचारका लागि अछामको बयालपाटा अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको हो । घटनामा संलग्न रहेको आरोपमा बुढीगंगा ७ वाइलका दीर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको छ । मृतक थापाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।




