रौतहट । सारक्षरतामा देशकै पुछारमा रहेको रौतहट जिल्लास्थित एक माध्यामिक विद्यालयमा पठन-पाठन अवरुद्ध गरी धार्मिक प्रवचन दिन थालेपछि विद्यार्थीले विरोध जनाएका छन् । कटहरियाका पूर्वशिक्षक लक्ष्मीनारायण यादव र रामाश्रेप्रसाद यादवले कटहरियास्थित श्रीजनता माध्यामिक विद्यालयको कक्षा ११ को पढाइ बन्द गरी करीब दुई घन्टा धार्मिक प्रवचन दिएका थिए ।
पूर्वशिक्षक यादवद्वयले यौनकाण्ड लगायत विभिन्न आपराधिक मुद्दामा भारतमा जेल जीवन बिताइरहेका राम पालको बारेमा लगातार कक्षा कोठाभित्र प्रवचन दिएका थिए । उनको प्रवचनको कारण मंगलबार अंग्रेजी र लेखा विषयको पढाइ हुन नसकेको कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीले बताए ।
यादवद्वयले मंगलबार कक्षा ११ बुधबार कक्षा १२ लगायतको कक्षामा प्रवचन दिने कार्यक्रम रहेको बताएपछि कक्षा ११ का दुई जना विद्यार्थी इलाका प्रहरी कार्यालय कटहरियामा गएर गुनासो गरेका थिए । सई मुकेशकुमार सिंहलाई भेटेर विद्यार्थीले सो बारे जानकारी गराएपछि सिंहले मावि कटहरियाका प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवलाई इलाका प्रहरी कार्यालयमा बोलाएर गुनासो बारे कुरा राखेका थिए ।
प्रधानाध्यापक यादवले कक्षा ११ मा पढाउने एक जना शिक्षकलाई फोन गरी सम्पूर्ण जानकारी लिएर यस्तो गतिविधि बारे आफूलाई पहिलेदेखि कुनै सूचना नरहेको बताएका थिए । अब यस प्रकारको कुनै गतिविधि विद्यालय अथवा कक्षा कोठाभित्र कसैलाई गर्न नदिन सम्पूर्ण शिक्षकलाई उनले सई सिंहको रोहवरमा निर्देशन दिए ।
पछिल्लो समय रौतहटमा अवकाश प्राप्त केही शिक्षकहरू राम पालको अनुवाई बनेर विभिन्न विद्यालयको कक्षा कोठाभित्र प्रवेश गरी पढाइ बन्द गरेर प्रवचन दिने गरेको गुनासो बढ्दै गएको छ । प्रवचनकर्ता अवकाश प्राप्त शिक्षकहरू अग्रज पाको उमेरका मानिस भएको कारणले विद्यालय प्रशासन मौन रहने गरेको कारण विद्यार्थीको पढाइमा असर परिरहेको छ ।




