रौतहट । उपचारको नाममा सर्वसाधारणसँग चर्को शुल्क असुल्ने रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा रहेका अस्पतालहरुको ढोका आइतबार बिहानैबाट बन्द भएको छ । सम्बन्धित निकायबाट अनुमति नै नलिइ खुलेका अस्पतालले उपचारको नाममा चर्को शुल्क लिने गरेको गुनासो आएपछि शनिबार मधेश प्रदेशका मुख्यमन्त्रीले अनुगमन तथा निरीक्षण गरेपछि त्यस्ता अस्पताल बन्द भएका हुन् ।
रौतहटको चन्द्रनिगाहपुरमा समान्य प्रक्रियासमेत पुरा नगरी अस्पताल संचालन गरेपछि स्थानीय स्तरमा त्यसको चर्को आलोचना भएपछि अनुगमनका लागि मुख्यमन्त्री सतिशकुमार सिंह रौतहट आएका थिए ।
सञ्चालनमा रहेका १० वटा निजी अस्पताल अनुगमनका क्रममा दर्तासमेत नभएका र नियमविपरीत चलाएको पाइएपछि मधेश प्रदेशका मुख्यमन्त्रीले बन्द गर्न निर्देशन दिएका थिए । पछि आइतबार अधिकांश निजी अस्पतालको सटर लागेको छ ।
चन्द्रपुर ४ मा सञ्चालनमा रहेका निजी अस्पताल अनुगमन गर्न शनिबार आएका मुख्यमन्त्री सिंहले मापदण्ड र दर्ता नभएको पाइएपछि तत्कालै बन्द गर्न सञ्चालकलाई पत्र थमाएका थिए । उनी अनुगमनमा आएको थाहा पाएपछि आधा दर्जन अस्पतालका सञ्चालक सटर लगाएर भागेका थिए ।
चन्द्रपुर, बृन्दावन, गरुडा, यमुनामाई गौर, कटहरिया लगायतका क्षेत्रमा सञ्चालनमा रहेका धेरै अस्पताल दर्ता र मापदण्ड विपरीत रहेको स्वास्थ्य कार्यालय गौरले जनाएको छ । जिल्लामा पछिल्लो समय मापदण्ड विपरीत अस्पताल सञ्चालन गर्ने क्रम बढेको छ । उनीहरूले हचुवाका भरमा धमाधम अस्पताल खोलका छन् ।
अधिकांश अस्पतालमा एम्बुलेन्स रोक्ने पार्किङ स्थल समेत छैन । कुनै नहरको डिलमा सञ्चालनमा छन् । यस्ता अस्पतालको निगरानी र अनुगमन हुन नसक्दा बेथिति र सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।
रौतहट जिल्लाको चन्द्रनिगाहपुर गौर सडक खण्डका दर्जनौ स्थानमा दर्ता नै नभएका निजी अस्पतालहरु संचालनमा छन् । स्थानीयले उपचारको नाममा सर्वसाधारणसँग चर्को शुल्क असुल्ने जिल्ला सदरमुकाम गौरसहित बजारमा रहेका निजी अस्पताल अनुगन गरेर बन्द गराउन माग गर्न थालेका छन् ।
गौरमा दर्ता बिना संचालनमा रहेका दर्जनौ निजी अस्पतालको पनि मुख्यमन्त्रीले अनुगमन गर्नुपर्ने गौरका स्थानीय बासिन्दा पुष्पराज यादवले बताए ।




