सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका १ मा सोमबार बिहान पाटे बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन् । स्थानीय गणेश खत्री र कृष्ण विष्ट बाघको आक्रमणबाट घाइते भएको स्थानीय खगेन्द्र कार्कीले जानकारी दिए ।
विष्टलाई गम्भीर चोट लागेकोले थप उपचारका लागि विराटनगर लगिएको छ भने खत्रीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । बिहान करिब ६:३० बजे फत्तेपुर बजारको रंगशालाको गेट नजिकै रहेको एक घरको कम्पाउन्डमा अचानक बाघ देखिएपछि स्थानीयवासी त्रसित बनेका थिए ।
सप्तकोसी क्षेत्रमा बाघको उपस्थितिले आतङ्क फैलिएको स्थानीय रमानन्द चौधरीले बताए । यस घटनापछि सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बाघको नियन्त्रणका लागि कोसी टापु वन्यजन्तु आरक्षण केन्द्रबाट विशेष टोली परिचालन गरिने जानकारी दिए ।




