विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका ५ मौलीबारीस्थित बक्राहा खोला किनारमा एउटै डोरीले पासो लागेको अवस्थामा युवक र युवतीको शव फेला परेको छ ।
मृत भेटिएका व्यक्तिहरूमा २४ वर्षीय अजय टुडू र झापाको गौरीगञ्ज गाउँपालिका २ की जुबामुनी हस्ता रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पिठारीको रुखको हाँगोमा सँगै झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको हो ।
प्रहरीका अनुसार दुवै जना विवाहित रहेका थिए । मृतक जुबामुनीका पति वैदेशिक रोजगारीका लागि विदेशमा रहेका छन्, भने उनको एक वर्षको छोरा रहेको छ । त्यस्तै, अजयका पनि दुई जना छोराछोरी छन् ।
अनुसन्धानका क्रममा अजयले आइतबार राति जुबामुनीलाई आफ्नै घरमा ल्याएका थिए । त्यसपछि भोलिपल्ट उनीहरू घरबाट निस्किएका थिए, र आज बिहान बक्राहा खोलाको छेउमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
प्रहरीले प्रेम सम्बन्धकै कारण समस्या उत्पन्न भएपछि आपसी सल्लाहमा आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी प्रमुख नारायण चिमरियाले जानकारी दिए ।




