हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ७ मा सालनालसहित नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार साँझ मनहरी ७ को फोहर विसर्जनस्थल (डम्पिङ साइट) मा नवजात शिशु (छोरी) को शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटाका अनुसार फोहोर संकलन गरेर डम्पिङ साइटमा ल्याउने क्रममा त्यहाँका कामदारले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रारम्भिक अनुसन्धानका आधारमा शिशुलाई एक-दुई दिनअघि जन्माएर फालेको हुन सक्ने अनुमान गरिएको छ । हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




