कञ्चनपुर । कञ्चनपुरमा अवैध लागूऔषध नियन्त्रणमा प्रहरीले दुई स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो भीमदत्त नगरपालिका १५ गोबरीया राधाकृष्ण टोलबाट ९ सय ६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ३ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा लक्ष्मण आर्याल, कमल चन्द र रोशन शाही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लक्ष्मणको घरबाट उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
त्यस्तै, भीमदत्त नगरपालिका ११ गड्डाचौकी होल्डिङ सेन्टर नजिक १ ग्राम ६ सय ४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा २१ वर्षीया यशोदा राना र २७ वर्षीय प्रबेश धामी रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।






