धनगढी । कैलालीमा शनिबार राति भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका १४ स्याउले बजारस्थित सडकमा से २ प ३५९० नम्बरको मोटरसाइकल र सु.प.प्र. ०१-००१ प १४१९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा कैलारी गाउँपालिका ६ बस्ने ४० वर्षीय रूपलाल चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका लागि लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको हो । सोही दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकलमा सवार दुई जनाको नोभा अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
त्यस्तै, कैलालीकै चुरे गाउँपालिका ५ निङलाडीस्थित सडकमा दिपायलबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ज १५२२ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको छ ।
उक्त दुर्घटनामा चालक, डोटी सायल गाउँपालिका ४ घर भएका २२ वर्षीय शंकर बोगटीको मृत्यु भएको छ । गम्भीर घाइते भएका बोगटीलाई सेती प्रादेशिक अस्पताल धनगढी पुर्याइए पनि उपचारका क्रममा उनको निधन भएको हो ।
दुर्घटनामा जिपमा सवार अन्य तीन जना घाइते भएका छन्, जसलाई थप उपचारका लागि मायामेट्रो अस्पताल धनगढी पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले दुबै दुर्घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।




